ब्लग लेखक :पवन पौडेल {creativepaudel}

६१८ कि.मि पार गर्न ३५ घण्टा

रात्रिबसमा ६१८ कि.मि यात्रा गर्न कति समय खर्चिनुपर्ला ? उत्तर सहज छ यदि ग्रामीण भेगको कच्ची बाटो हो भने सरदर प्रतिघण्टा २५ कि.मि को दरले २५ घण्टा पीच बाटो हो भने प्रतिघण्टा ६० कि. मि को दरले १० देखि ११ घण्टा । तर गत शुक्रवार राजधानीबाट पूर्वका लागि छुटेका यात्रुहरुले भने ३५ घण्टाको यात्रा तय गर्नुपर्यो । कारण थियो पूर्व–पश्चिम राजमार्गको बर्दीबास सडकखण्डमा स्थानीयबासीले गरेको अनिश्चितकालिन बन्द हड्ताल । २०६५ साल पौष १३ गते नेपाल सरकारले ४८ जिल्लाको ५२ स्थानमा आन्तरिक राजस्व कार्यालयको सेवा केन्द्र स्थापना गर्ने भनी निर्णय गरेको थियो तर सो निर्णय हाललाई स्थगन गरिएको विरोधमा स्थानीयबासीले हप्तादिन अगाडी देखि नै आन्दोलनका कार्यक्रमहरु तय गरेका थिए । आन्दोलनको आठौं दिन शुक्रवार दिउँसो प्रदर्शनकारी र प्रहरीबीच निकै बेर झपड भयो, झडपमा प्रहरीले भीड नियन्त्रण गर्न २४ राउण्ड हवाईफायर र १० राउण्ड अश्रु ग्याँस समेत प्रहार गर्‍यो । एउटा घमासान युद्ध जस्तो अवस्था सिर्जना भएको थियो शुक्रवारको दिन बर्दीबास सडक खण्डमा ।
शुक्रवार अधिराज्यभरबाट पूर्वका लागि छुटेका दिवाकालिन र रात्रिकालिन बसहरु र पूर्व काँकडभिट्टादेखि राजविराजसम्मबाट देश विभिन्न स्थानका लागि छुटेका रात्रि र दिवाकालिन यात्रुबाहक बसहरुलाई गन्तव्यमा पुग्न धेरै कठिन थियो । त्यहाँ वरिपरि भएका किराना पसलहरुमा सावुन र सरफ मात्र बाँकी थियो भने होटलहरुमा खाजा र खानाको नाममा केही पनि रहेको थिएन । समय कटाउनको लागि कतिले बाटोमा तास खेलिरहेका थिए भने कति बाघचाल खेल खेलेर समय कटाएका थिए । शुक्रवार बिहानदेखि भएको बन्द शनिवार बेलुका ५ बजेसम्म रहेको थियो । 
‘हामीले कसको के बिगारेका थियौ र यति धेरै सास्ती पाउनुपर्ने हो, बन्दले असर गर्ने भनेको सर्वसाधरणलाई हो, सरकारलाई दबाब दिने निहुँमा बाटो बन्द गर्ने परिपाटी कहिले अन्त्य होला’
– राजधानीबाट आफन्तको घरमा आउँदै गरेकी सिन्धुलीकी प्रतिमा विष्टले आफ्नो दुखेसो पोख्दै थिइन् । स–साना बाल बच्चा बोकेकाहरुको पीडा झन् दर्दनाक थियो । बच्चाहरु भोकले कराईरहेका थिए, पैसा भएर पनि केही किनेर खान पाइएको थिएन । जङ्गलको बिचमा समय कटाउनुपर्ने थियो वरिपरि कतै गाउँ बस्ती थिएन ।
कुनै आधिकारिक तथ्याङ्क नभए पनि सिन्धुलीबाट अपडेट हुने सिन्धुली दर्पणको वेवपेजका अनुसार शनिवार राति यात्रुबाहक बस, र माहबाहक ट्रक गरी लगभग १०० सवारी साधनको सिसा तोड्फोड भएको छ । राजमार्ग सिसाका टुक्रा अनि टायरको बलेको धूलोले भरिएको छ । सीता– अग्नी लगायत अन्य कम्पनीका यात्रुबाहक सवारीसाधनमा न त अगाडीको सिसा नै थियो न पछाडिको न त झ्यालको सिसा नै । यस्तो जाडो मौसममा सिसा नै नभएको गाडीमा यात्रुहरुले कसरी यात्रा गरे होलान् ? सिन्धुलीकि अञ्जु विष्टको दुखेको सही नै हो आखिर के बिगारेका थिए र यी यात्रुहरुले, के को सजायँ भोग्नुपरेको हो उनीहरूलाई यसको उत्तर सायदै कसैले नदेला ।

1 Responses to “६१८ कि.मि पार गर्न ३५ घण्टा”

Anonymous said... Best Blogger Tips[]Best Blogger Templates

Feb 24, 2012 6:25:00 PM

आखिर नेपालीले जे देखेका छन त्यहि त गर्ने हुन नि ! होइन र ? १० बर्ष लगाएर चौध हजार नागरिकको हत्यामा सरिक भएर सत्तामा पुगेको देखेका छन् । १९ दिन सम्म लगातार देश बन्द गरेर सडकमा टायर बालेर लुटतन्त्रमा सामेल हुने मौका पाएको देखेका छन् । कयौं दिन सम्म बग्द गरेर सडकमा टायर नै बालेर आ-आफ्नो जात (?) ले सरकारी आरक्षण पाएको देखेका छन् । कतिले अंशबण्डा गरी नेपालको यति जमिन मेरो अंशमा पर्नु पर्छ भन्दै हप्तौं सम्म बन्द गरेर निजी तथा सार्वजनिक सवारी साधन तोडफोड गरेको र टायर नै बालेको देखेका छन् । सबै संग तुलना गरी हेर्दा बर्दिवास वासीले त थोरै नै गरेछन् ।


Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...

Next previous home