यो तस्बिर नियाल्दा ।

यो तस्बिरलाई नियाल्दा मैले आफ्ना वितेका क्षणहरुको याद गर्दछु । धेरै अगाडी पनि हैन आजभन्दा करिब ६ ७ वर्ष अगाडीसम्म नयाँ ठाउँमा पुगियो भने तस्बिर लिनको लागि फोटो स्टुडियोको मानिसलाई मगाएर तस्बिर खिच्ने गरिन्थ्यो । त्यो समयमा इमेल इन्टरनेट, अहिलेका जस्ता सामजिक सञ्जालको बारेमा सुनेको थिइन । अनि फोटो स्टुडियोको मानिसलाई आफ्नो ठेगाना र पैसा (फोटो धुलाएको र हुलार्क खर्च सहित) दिएर त्यो तस्बिर आउने आशामा धेरै समय विताउने गरिन्थ्यो तर एकाध रूपमा मात्र त्यस्ता चिठी घर आइपुग्थे ती क्षणहरु कति रमाइला हुन्थे अहिले कल्पना गर्न पनि सकिरहेको छैन । 

मैले विगतको त्यो क्षणको प्रसङ्ग यहाँ छोड्न किन खोज्दैछु भने केही समय अगाडी म  सुदुरपश्चिमका जिल्लामा १५ दिन भ्रमणको लागि गएको थिए । यो माथि देखिएको तस्बिर डडेलधुरा जिल्लाको असिग्राम गाविसमा लिइएको हो । देखिएका विद्यार्थीहरु असिग्राम उच्च माध्यमिक विद्यालयमा कक्षा ३ देखि १० सम्म पढ्ने देउवा (पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गाउँ) गाउँका नानीहरु हुन् । तस्बिर लिइसकेपछि क्यामेरा तस्बिर देखाउँदा मेरो क्यामेरा जोगाउन आफैँलाई हम्मे हम्मे परेको थियो । उनीहरूलाई हुलाकबाट यो तस्बिर पठाईदिने सर्तमा उनीहरूले दिएको ठेगानामा मैले हुलाकमार्फत पठाईदिएको छु ।

by Pawan Paudel · 0

सुदुरपश्चिमका केही झलकहरु

सुदुरपश्चिममाको १५ दिने बसाइमा क्यामेरा कैद गरिएका केही दृश्यहरु यहाँ राख्दैछु । नेपालका ५ विकासक्षेत्रहरुमध्धे विकास, शिक्षा र अरू विविध कारणले पछाडि परेको सुदुरपश्चिमाञ्चलका झलकहरुमा भौगोलिक कारणले पछाडि परेका केही दृश्यहरु छन् ।
यो तस्बिर देख्दा सहरमा भएका मुण्डा (रड, सिमेन्ट, बालुवा र गिटीको मिश्रणबाट छत ढलाई गरिएको ) घर को याद आयो । सहरभन्दा बेग्लै यस घरमा दलिन (शहरी क्षेत्रमा रड, सिमेन्ट, बालुवा र गिटीको मिश्रणबाट बनाएको विमजस्तै काठ प्रयोग गरि बनाइएको बिम) माथि स–साना दाउरा राखेर त्यसभन्दा माथि बाक्लो प्लास्टिकमाथि बालुवा मिश्रण भएको माटो राखेर बनाइएको घर ।
 
उक्त तस्बिर एउटा सल्लेरी बन लिइएको हो । सल्लाबाट खोटो निकाल्ने प्रविधि हो यो । एउटा सल्लाको बोटमा अधिक्तम ३ वटा सम्म सोली प्रयोग गरिएको भेटियो खोटो निकाल्नको लागि तर एउटा सल्लाको बोटमा १ वर्षमा कति लिटर खोटो उत्पादन गर्न सक्छ भन्ने प्रश्नको उत्तर भने पाउन सकिएन् ।

पहाडी क्षेत्रका यातायातका साधनहरु :
घोडा र गघाको बच्चा खच्चडहरु पहाडी क्षेत्रमा सामान ओसारपसार गर्ने एकमात्र साधनहरु हुन् । दिभरीको यात्रापछि बेलुका दाना खाँदै खच्चडहरु । उनिहरुलाई दानाको रूपमा चना, मकै दिइने गरिन्छ ।  
 
 जोगबुढा गाविसको वडा नं. ४ मा भेटिएकी एक अधबैशे महिला । उनले घाँटीमा लगाएको मालालाई मेरो क्यामेराले कैद गर्न २ सेकेण्ड भन्दा बढी समय खर्चिनु परेन । घाँटीमा एक प्रकारको नाम्लो जस्तो आकारको माला उनले सुदरपश्चिमाञ्चलमा हुने गौरा पर्वमा किनेकी हुन् ।
त्यस्तै अर्को तस्बिरलाई पनि क्यामेराले कैद गर्न भ्याएछ । प्रशान्त बोहरा बताउने उक्त बालक स्थानीय विद्यालयमा कक्षा ४ मा अध्ययनरत छन् उनका बाबु घरमिस्त्री हुन् प्राथमिक भन्दा माथिको शिक्षा आर्जन गर्न उनले दैनिक ३ घण्टाको पैदल यात्रा तय गर्नुपर्ने हुन्छ तर भौगोलिक विकटताले गर्दा उनले प्राथमिक शिक्षाभन्दा माथिको शिक्षा हाँसिल गर्न सक्नेछैनन् । यो तस्बिर नियालेर हेर्दा माईक्रोसफ्टमा काम गर्ने जोन उडले लेखेको Living Microsoft To Change the World जसको नेपाली अनुवाद माईक्रोसफ्ट देखि बाहुनडाँडासम्मको याद झलझली मनमा आइरहन्छ ।
 
पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा जन्मेको गाउँमा भेटिएकी एक महिला । यस तस्बिरले गरिबीले निम्ताएको पीडाको झझल्को दिन्छ । लुंगी (पहाडी क्षेत्रमा महिलाले तल्लो भागमा लगाउने लुगा) को साटो प्लास्टिक बेरेकी छन् यो उनको रहन नभएर बाध्यता हो । स्थानीय लवजमा उनले बोलेको भाषा आफूले भने बुझ्न सकिएन ।
डडेलधुरा जिल्लाको जोडबुढा गाविसको वडा नं. ८ मा भेटिएका एक बालक उनको देव्रेपट्टिको कम्मर औसतभन्दा बढी बाहिर उठेको छ भने अगाडिको छाति भित्र पसेको छ । प्रकाश बोहरा बताउने उक्त १५ बर्षिया बालक त्यहाँको सिद्धनाथ निम्न माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छन् ।

by Pawan Paudel · 0

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पुख्र्यौली घरमा पुग्दा

जेष्ठ ३० गते डडेलधुरा जिल्लाको असिग्राम गा.वि.समा पुग्नुपर्ने थियो । डडेलधुरा जिल्लाको सदरमुकाम असिग्राम नगरपालिकामा रहेको बसपार्कबाट एउटा माईक्रोमा चढ्यो हामी बिहानको ६ बजे असिग्राम गाविसको लागि । माईक्रोमा २५ किलोमिटरको यात्रापछि हामीले पैदल यात्रा तय गर्नुपर्ने थियो असिग्राम गाविस पुग्नको लागि ।
तीनपटकसम्म देशको प्रधानमन्त्री बनिसक्नुभएका देउवाको बाल्यकाल व्यतित भएको त्यो पुख्र्यौली घर पुग्ने मेरो ठुलो इच्छा थियो त्यसैले असिग्राम गाविसको वडा नं. ३ मा अवस्थित देउवा गाउँमा सहकर्मी मित्र अनिता सापकोटासँग म पुगेको थिए । 
मैले नबुझेको कुरो ।
प्रजातन्त्रको पुनस्र्थापनापछि भएका सम्पूर्ण निर्वाचनमा (२०४८, २०५१, २०५६ र २०६४) गरी चारपटक नै अपराजित भएका शेरबहादुर देउवाको निर्वाचन क्षेत्र डडेलधुरा–१मा विकासका कुनै पनि पूर्वाधारहरु छैनन् । त्यहाँका नागरिकहरूले देउवामाथि ठुलो विश्वास गरेर निर्वाचनमा भोट हालेका हुन् तर अहिलेसम्म त्यस ठाउँमा विकासका पूर्वाधारहरु किन निर्माण हुन सकेका छैनन् । अब फेरी आउने निर्वाचनमा देउवाले नै त्यस क्षेत्रबाट विजय प्राप्त गरे तर त्यस क्षेत्रको सामाजिक, आर्थिक, भौगोलिक विकासमा कुनै पनि परिवर्तन भएन भने उनको जितलाई कसरी लिने ?
महाकाली राजमार्गलाई छाडेर सल्लेरीको बाटो हुँदै ४५ मिनेटको ओरालो झरेपछि असिग्राम गाविसको रुवाखोला भन्ने स्थानमा पुगिन्छ । त्यहाँ रहेको असिग्राम उच्च माध्यमिक विद्यालयमा देउवाले प्रारम्भिक शिक्षा लिनुभएको रहेछ । स्थानीय बिदा भएकाले सो स्कुलमा पुगेर त्यहाँका प्रधानाध्यापकसँग कुराकानी गर्ने धोको मनमै रहन् पुग्यो ।:(
रुवाखोलाको झोलुङ्ले पुल तरेर लगभग २५ मिनेटको उकालो चढेपछि शेर बहादुर देउवाको पुख्र्यौली घर पुग्न सकिन्छ । त्यसठाउँमा देउवाहरुको बाहुल्यता रहेको कारणले गर्दा गाउँको नाम पनि देउवा गाउँ नै राखिएको रहेछ । तपाईहरु चित्रमा देख्नसक्नुहुन्छ एउटा अस्तित्वमा मात्र सीमित भएको छ देउवाको पुख्र्यौैली घर । १२ वर्षे सशस्त्र द्धन्द्धको समयमा २०५८ साल वैशाख ८ गते बेलुका ७ बजेतिर माओवादीले उहाँको घरमा पेट्रोल छर्केर आगो लगाएका थिए । सो घटना हुनुभन्दा ४ महिना अगाडिदेखि नै उक्त घरमा मानिस बस्न छाडेका कुनै मानविय क्षति नभएको जानकारी देउवाका काका डम्बरबहादुर देउवाको भलाकुसारीबाट थाहा भयो ।
डडेलधुरा जिल्लाको असिग्राम गाविसको वडा नं. ३ मा अवस्थित पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाको पुख्र्यौली घर ।
सानैदेखि नै राजनीतिमा अग्रसर हुनुभएको देउवाको बोली तपाईँ हामीले स्पष्टसँग बुझ्न सक्तैनौं त्यसको वास्तविक कारण केही हो त भनी उहाँको काकासँग प्रश्न राख्दा जेलमा हुँदा जिव्रोमा करेन्ट लगाइदिएको हुनाले बोली स्पष्ट नभएको उत्तर पाइयो ।
देउवा जन्मेर र बाल्यकाल व्यत्तित गरेको गाउँठाउँमा विकासका पूर्वाधारहरु केही छैनन् । त्यहाँसम्म जानको लागि मोटरबाटो भख्खर खनिएको छ तर गाडीहरु चल्नसक्ने अवस्थामा छैन । खानपानीको राम्रो प्रवन्ध छैन । जिल्लाको एकमात्र नगरपालिका असिग्राम नगरपालिकामा पनि व्यवस्थित खानेपानी छैन । प्रत्येक घरले व्यक्तिगत रूपमा पाईप किनेर मुहानबाट घरसम्म पानी ल्याएका छन् । प्लास्टिकका पाईपहरुले बाटो कुरुप बनाएका छन् । सडकमा ढल निकास छैन । सडकमा सडकबत्तिहरु राखिएका छैनन् । सबै बडाहरुमा मोटरबाटो पुगेको छैन ।
देउवा शान्ति सम्झौता भएपछि मात्र एकचोटी आफ्नो पुख्र्यौली घरमा पुगेका छन् । त्यसगाउँठाउँका जनताले देउवामाथि धेरै विश्वास गरेका छन् त्यो ठाउँको विकासको लागि तर त्यो यो जुनीमा सफल हुदैन कि भन्ने शङ्का छ स्थानीय ६५ बर्षिया देउकला देउवाको ।
Happy Blogging :)
यो स्टोरी जनसंसद दैनिकमा प्रकाशित भएको छ ।  
CLICK HERE TO READ PAPER.

by Pawan Paudel · 2

ढुङ्गाको ओखलमा धान कुटेर खाना खाँदाको अनुभव

सुदुरपश्चिममा विताएका प्रत्येक दिनमा नयाँ नयाँ घटना घटेका थिए । कुनैदिन १३ घण्टासम्मको पैदल यात्रा तय गरियो त कहिले सवारीसाधनमा यात्रामा बाटो अवरुद्ध भएर दिनभरी बाटोमा समय बितायौं । त्यसभन्दा पनि नौलो अनुभव गर्न पाइयो जेठ २९ गते बिहान डडेलधुरा जिल्लाको जोगबुढा गाविसको वडा नं. ४ मा पर्ने स्थानीय शिक्षक बेदकुमार बोहराको घरमा ।
बेदकुमार सरको घरमा म बिहान ७ बजेतिर पुगेको थिए । ढुङ्गा र माटोको समिश्रणबाट बनेको पर्खाल माथि स्लेटको ढुङ्गाले छाना छाईएको दुईतले घर सेतो कमेरो र रातो माटोले चिटिक्क पारिएको थियो ।
चियाको चुस्की लिदै सरसँग म भलाकुसारी गर्न थाले तर मेरा आँखा अचानक घरको पश्चिमपट्टी एकजना १३ वर्षिया बालिकामा पर्यो । ती बालिकाले नाङ्लोमा केही धान लिएर ढुङ्गाको ओखलमा धान कुट्रिहेकी थिइन । बाल्यकालमा पर्वत जिल्लामा हुँदा काकीहरुले ढिंकीमा गहुँ वा कोदो फलेको (गहुँ वा कोदोको बाहिरी बोक्रा उप्काउने विधि) देखेको थिए तर यसरी ओखलमा धान कुटेर त्यसबाट निस्केको चामलको परिकार भने मेरो जीवनमा पहिलोपटक नै थियो ।
 ढुंगाको ओखलमा धान कुट्दै गरेकी बालिका ।
बेदकुमार सरलाई प्रश्न तेर्साउन थाले मैले । सर यो रहर हो कि बाध्यता ? उहाँले भन्नुभो "पौडेल जी हाम्रो नजिकै धान, मकै गहुँ कुटानि पिसानीको लागि मिल छैन । यदि मिलमा नै कुटाउने हो भने टाउकोमा नाम्लो लगाएर तीन घण्टामा पैदल यात्रा तय गरेपछि मात्र मिल भेटिन्छ । कहिलेकाँही त्यहाँ लगेर धान पिसाउँछौ तर धेरैजसो घरमै यसरी नै ओखलमा कुट्ने चलन छ । पहिला धानलाई तातोपानीमा उमालेर घाममा सुकाएपछि त्यसको बोक्रा सजिलोसँग उप्किन्छ ।"
मनमनै तुलना गर्न बाध्य भए म, काठमाडौँको खाल्डोमा बस्ने १३ बर्षिया बालिकाहरु र यो ठाउँमा बस्ने बालिकाहरुबीच को भिन्नताको खाडल कति गहिरो छ । इमेल, इन्टरनेट, मानिसहरुको कोलाहल, सडकमा गाडीहरुको ताँतीबाट केही दिनको लागि भए मैले छुटकरा पाएको थिए । त्यहाँको प्राकृतिक सौन्दर्य, मानिसको जीवनशैली बुझ्नु मेरो दोस्रो ठुलो उद्देश्य थियो यो भ्रमणको ।
गाईबस्तुको कम्पोष्ट मल राखेर उव्जाएको अन्नबाली अनि त्यसलाई ढुङ्गाको ओखलमा कुटेर निकालेर चामलको परिकारको स्वाद मैले कहिल्यै भुल्न सक्तिन होला ।
सुदुरपश्चिमका अरू अनुभवहरु पनि बिस्तारै पस्कदै जानेछु ।

by Pawan Paudel · 0

previous home